Namaste Surkhet Promo
भेरी खबर 27 मे
Surkhet Directory Search
 

Miss Call...
Sardar: Miss, Do u called 2 my mobile?
Teacher: Me? No, why?
Sardar: Yesterday I saw in my mobile- "1 Miss Call".

read more


Kanti Adhikari

 

मनको परावर्तन

मानिस संसारको प्राणीहरुमा उत्कृष्ट प्राणी भनेर समाज शास्त्रमा उल्लेख गरेकोछ सायद मानव शास्त्रमा पनि उल्लेख गरेको होला । आखिर मानिसले आफैले आफैलाई किन उत्कृष्ट प्राणी घोषणा गरेको होला अवश्य पनि उत्कृष्ट विचार विवेक भएरै त होला नि । मानिसले आफुलाई भन्दा अरु प्राणीलाई स्नेह माया गर्न सक्छ अरु प्राणीको भावना बुझ्न सक्छ ।

अरु प्राणीको उन्नतिको लागि हक अधिकारको लागि प्राण रक्षाको लागि कार्य गर्न सक्छ त्यसैले मानिसलाई उत्कृष्ट प्राणी भनिएको होला । तर कहिले काहिं लाग्छ मानिस सबै भन्दा खतरनाक प्राणी हो अरु प्राणी भन्दा विवेकहीन हो र अरु प्राणी भन्दा क्रूर हो । त्यो सबै मानिसको मनको स्थिति तथा स्तरको कारणले हो भन्नु पर्छ । मानिसको मन अरु प्राणीको भन्दा फरक छ स्तरीय छ । मानिसको मन करुणाले भरीएको पनि छ । मानिसको मन मात्रै बोधिचित्त हुन सक्छ मानिस मात्रै बुद्ध हुन सक्छ । मानिसको मन पशु चित्त पनि हुन्छ असूर चित्त पनि हन्छ ।

मानिसको बोधि मनले आफ्ना सारा कुशल अकुशल कर्महरुलाई बुझ्दछ अनि बुद्धत्व प्राप्त गर्न सक्छ । कतिपय पशुहहरुको मन पनि बोधि चित्त भएको हुन्छन् बिभिन्न घटनाक्रमले देखाएकोछ । कुकूरले बिरालोको छाउरालाई दुध ख्वाएको,बाख्राले बाघको बच्चालाई दुध ख्वाएको घटना कहिले काहीं खबर सुन्न पाईएकोछ । मानिसको मन स्थिर हुंदैन, गतिमान हुन्छ, पल पल परिवर्तन भैरहन्छ मानिसको यो गतिमान मनमा बिभिन्न प्राणीहरुको मनले स्थान ओगटेको पनि पाईन्छ । मानिसको मन उस्को प्रतिकृया द्वारा प्रतिबिम्बित भएको हुन्छ ।

यो संसार अनित्यछ, त्यसैले हरेक संस्कार अनित्यछ, त्यसैले बेदना पनि अनित्य छ । केवल अनित्य मात्रै नित्य छ । हरेक बस्तु          परिवर्तनशीलछ चाहे जिवित होस या निर्जिव । हेर्दा निर्जिव देखिएतापनि वातावरणको कृयाले त्यस्को स्थिति परिवर्तन भएको हुन्छ । हरेक बस्तुको उत्पत्ति पछि नष्ट हुन्छ केवल समयको तल माथि मात्रै हो । हिजो जे थियो त्यो अहिले केहि छैन सबै नयाँ भैसक्यो हेर्दा त्यहि जस्तै लागे तापनि त्यो अर्कै भैसकेकोछ । यो संसार कस्तो थियो अहिले कस्तो भैसकेको छ बिगतमा हामीले देखेको परिस्थितिको राम्ररी अनुभव छ ।

दृष्यहरु आफै परिवर्तन भैरहेको हुन्छ  किन कि यो संसार अनित्यछ । सबैले अनित्यलाई महसुस गर्न सक्छ तर मानिसले मात्रै बुद्धत्व प्राप्त गर्न सक्छ । बुद्धत्व प्राप्त गर्न बोधिचित्त अर्थात बोधि मन कृयाशील हुनु नित्तान्त आश्यक छ । हाम्रो मनलाई परम परोपकारी तवरले तालीम दिनु पनि नित्तान्त आवश्यक छ । मानिसको मन बलियो हुनुपर्छ कमजोर हुने बित्तिकै अरु प्राणीको मनले बास गरिहाल्छ । मानिसको मनलाई शील, समाधी र प्रज्ञाले बांध्नुपर्छ ।

मानिसको मनलाई जसरी पशु पंक्षीलाई तालीम दिईन्छ त्यसै गरेर मनलाई साध्नुपर्छ । मनको स्वभाव अस्थीर हुनु हो चन्चल हुनु हो मनको धर्म कृयाशील हुनु हो । मानिसको मन कति बेला परिवर्तन भैहाल्छ बुझ्न गाह्रो हुन्छ । मनको मूख्य धर्म अगुवाई गर्नु हो । मन इन्द्रियहरुको शासक हो । मनले सबै इन्द्रियहरुलाई आफ्नो अधिनमा सन्चालन गरि रहेको हुन्छ । मनको निर्देश बिना कुनै पनि इन्द्रियले केहि गर्न सक्दैन । मन शक्तिशाली हुन्छ । मनले चाहनु मात्रै पर्छ जे पनि गर्न सक्छ र जे पनि हुन सक्छ ।

 मनको दश तह हुन्छ । मनले नै मानिसलाई उभो गति वा उंधोगतिमा पुगाएकोहुन्छ । आज संसारका बिभिन्न व्यक्तिहरुको मनलाई मूल्यांकन गरेर हेर्न सकिन्छ चाहे त्यो बिगतका होस चाहे बर्तमानका होस । एडल्फ हिटलर क्रूर शासक हुनु, भारतका महात्मा गान्धी, स्वामी विवेकानन्द, झांसीको रानी भारतमा त्यस्ता अनगिन्ती महान मनहरु छन र पशुभन्दा पनि गए गुज्रेको मन पनि देखिन्छ

। महान सिकन्दरले संसार जित्ने मन गर्‍यो । नेपालका पृथ्वीनारायण शाहको मनले नेपालीलाई २४० बर्ष रैती बनायो । शाक्यमुनी भगवान बुद्धको मनले चर्तुआर्याय सत्यको मार्ग प्रदर्शन गर्‍यो । प्रथम शहीद लखन थापा र राणाकालिन चार शहीदहरुको मनले राणा शासनको बिरुद्धमा ब्रिद्रोह गर्‍यो । नेपाली जनताको मनले दोश्रो जन आन्दोलनको सृजना गर्‍यो माओवादीको मन क्रूर भन्दा क्रूर भयो र सरकारी सेनाको मन पनि क्रूरतामा प्रतिष्पर्धा नै गर्‍यो ।

हजारो अनगिन्ती शहीदहरुको मनले बलिदानी गर्‍यो । महाभारतमा धृतराष्ट्र, दुर्योधन, पांचपाण्डव द्रोपदी तथा कृष्णको पनि मनले नै महाभारतको सृजना भयो । रामायणमा पनि दशरथ देखि राम र रावणको मनकै कारणले रामायण सिर्जना भयो । भारतका प्रख्यात कवि रन्द्रिनाथको मन् कति सुन्दर, नेपालका कविशिरोमणी, महाकवि देवकोटाको मन कति सुन्दर भानुभक्तले घांसीको सामाजिक सेवाको काम देखेर मन् परिवर्तन भयो । जे सुकै सम्बेदना प्रकट भएपनि जुनसुकै इन्द्रियहरु द्वारा कृया गरे पनि मनैमा प्रतिकूल असर पर्ने रहेछ । मनमा असर पर्ने बित्तिकै प्रतिकृया उत्पन्न भैहाल्छ ।

हेतुफलको उपदेशहरु द्वारा मतिशोधन अर्थात मनलाई तालीम दिईन्छ ।                    आत्मपरावर्तनद्वारा पनि मतिशोधन अर्थात मललाई उच्च स्तरीय तालीम दिईन्छ । त्यो मनलाई एकाग्रताको तालीम विपश्यना द्वारा मात्रै सम्भव छ भनेमा अत्युक्ति नहोला । मानिसको दृष्टि एक ठाउंमा टिके पनि मनको आंखाले अन्यत्र भ्रमण गरेको हुन्छ त्यसैले देखेको दृष्य पनि उस्ले बिर्सन्छ । कानले ध्वनी सुनेतापनि मन अन्यत्र भएकोले स्मृति बलियो गर्न सक्तैन अहिलेको अहिल्यै पनि बिर्सन्छ । मनको अस्थिरताको बारेमा एउटा बुद्धकालिन पूरानो बोध कथा छ ।

"एउटा गाऊमा एउटा परिवारमा एक चन्चल युवक थियो उस्को मन केवल घुम्ने रमाईलो गर्ने मात्रै थियो । यो देखेर उस्को आमा बुवाको मनले सोंच्यो सायद छोरालाई बुद्धको उपदेश सुन्न लगायो भने राम्रो मनमा परिवर्तन हुन्छ कि भनेर छोरालाई भन्यो बाबु नजिकको बिहारमा भगवान बुद्धले उपदशे गरिरहनु भएकोछ उहां साह्रै दयालु करुणा भएको हुनुहुन्छ जाउ उपदेश सुनेर आउ चन्चले छोराले भन्यो आ..† बुद्धको उपदेश सुनेर मलाई के फाईदा - बुवाले तुरुन्त भने तिमीलाई ५ असर्फी दिन्छु । छोराले भन्यो अहा त्यसोभए म बुद्धको कुरा सुन्न जान्छु ।

युवक बिहारमा उपदेश सुन्न गयो । युवकको मनमा एउटै कुरा मन्थन भैरहेको थियो कतिबेला बुद्धको कुरा सिद्धिएला र बुवा सित ५ असफिर् पाउंछु । उपदेश सिद्दियो युवक दौडेर घर गयो र बुवा सित पांच असर्फी माग्यो । उस्को बुवाले खुसि भएर दियो र भन्यो बाबु बुद्धले के भन्नुभयो त युवकले भन्यो ओ हो त्यो त मैले केहि याद गरिन । बुवाले ठिकैछ नभए पनि केहि छैन, भोली पनि जाउ भोली १० असर्फी दिन्छु । युवक भोलीको पर्खाईमा रात भरी सुतेन बिहानै बुद्ध भएको ठाउंमा जान तयार भयो बुवाले भन्यो बाबु तिमीलाई १० असर्फी त दिन्छु तर बुद्धले के के भन्नुभयो सबै मलाई भन्नुपर्छ । उस्ले हुन्छ भन्यो बुवालाई सबै बृत्तान्त सुनाउन उ एकाग्र भएर बुद्धको उपदेश सुन्दा सुन्दै सात दिन बित्यो । उस्को मन १० असर्फी भन्दा ज्ञान उत्तम लाग्यो आंखा चिम्लेर ध्यान गरि बस्यो ।

आमा बुवा आएर बोलायो तर उ ध्यानमा बसिरह्यो बिउंझे पछि भन्यो जाउं घरमा खाना खानु पर्दैन युवकले भन्यो मलाई भोक लागेको छैन अहिले जाने मन छैन, बुवाले भन्यो १० असर्फी लिने होईन युवकले भन्यो त्यो भन्दा धेरै मैले बुद्ध भगवानबाट पाईसकें"

 

यस्तै गरेर बुद्धकालिन खुंखार डांकु अंगुलीमालको पनि बुद्धको उपदेश सुनेर मन परिवर्तन भएको थियो । कसै कसैको मन त दृढ ढुङ्गा जस्तो मन हुंदो रैछ । बुद्धका काकाको छोरा देवदत्तको मन बोधि मनमा परावर्तन हुन सकेन । महानसिकन्दरको संसार जित्ने मन एकजना फकीरको कुरा सुनेर मन परिवर्तन भएको थियो । मानिसको मन परिर्वतशील छ, जुनसुकै बेलामा परिवर्तन हुनसक्छ । मन कुनै परिस्थितिबाट हुन्छ वा कुनै दृष्य बाट वा कुनै कुरा सुनेर वा र्स्पर्श बाट वा जिब्रोको स्वादबाट मन परिवर्तन हुन्छ अर्थात इन्द्रियहरुको कृयाशिलता बाट मन परिवर्तन हुन्छ ।

पशु पंक्षीहरुको पनि मन हुन्छ तर स्थायी अर्थात दीर्घ समय सम्मको लागि हुन्छ । पशु पंक्षीहरुको पनि मन परिवर्तन हुन सक्छ तर मानिसको मन जस्तो होईन । पशुको मन पनि दया करुणाले भरिएको हुनसक्छ जस्लाई बोधि मन भनिन्छ । जब मानिसमा पशुको मन समाविष्ट हुन्छ तब उस्ले आफ्नो छोरा छोरी, आमा बुवा वा हाड नाता केहि थाहा पाउंदैन । जब एउटा पुरुषमा पशुको मन समाविष्ट हुन्छ उस्ले छोरी वा बहिनी नाबालक वा बढी केहि देख्दैन केहि बुझ्दैन केवल उस्ले यौन प्यास तृप्ति गर्ने मन भएको हुन्छ ।

जब पशुको मनबाट मुक्त हुन्छ उ पछुताउंछ । त्यस्तै महिलाको पनि हो । संसारमा त्यस्ता थुप्रै घटनाहरु संचार माध्यमबाट सुन्न देख्न पाईन्छ । एउटा दृष्यले पनि मानिसको मन असल वा खराब मनमा परिवर्तन हुन्छ । उस्ले त्यो समयमा असल र खराब छुट्याउन सक्ने क्षमता पनि हुंदैन । मानिसको मन अधिकांस राम्रो, सुन्दर तथा स्वादिष्ट तर्फ आकषिर्त भएको हुन्छ । जस्तै यदि कसैले सहयोग गरेको छ भने त्यस तर्फ मन आकर्षित हुन्छ यो मनको स्वभाव नै हो । त्यसरी आकषिर्त हुनुलाई राग भनिन्छ ।

 सुन्दर बस्तु देखिने बित्तिकै प्राप्तीको चाहना हुनु मन उतातिर आकर्षित भएको हुन्छ हानी पुगाउने प्रति मानिसको मनमा घृणा वा द्वेष उत्पन्न हुन्छ । मन एक प्रकारले तरल जस्तै हो जसरी तरल अलिकति ओरालो पाउने बित्तिकै उतै बग्न थाल्छ ।

मानिसको परावर्तन कसरी हुन्छ एक छिन चिन्तन मनन र अभ्यास गरि हेरौं न एक जना मित्रलाई सोंच्नुस जो हरेक पल तपाईंको सहयोगी छ तपाईंको प्रशसं गर्छ .....कस्तो आत्मीयता लाग्छ मनमा तुरुन्त राग उत्पन्न हुन्छ । उ सित भेट्न पाएमा तपाईंको मन प्रशन्न हुन्छ भएन त अब एक जना शत्रुलाईलाई सोंच्नुस जो हर पल तपाईंको हानी पुर्‍याउछ र तपाइंको आलोचना मात्रै गर्छ........कस्तो घृणा अति कस्तो द्वेष उत्पन्न भयो कति रीस उठ्छ हैनत अब एक जना अपरिचित व्यक्तिलाई सोंच्नुस ...... कस्तो तथस्थता .....मनमा कुनै प्रतिकृया छैन ।

त्यसैले मनको स्वभावनै यस्तो हो मनको स्वतः परावर्तन संस्कार हुन्छ । अब यहां संस्कार शव्द आयो संस्कारलाई बुद्धकालिन अवस्थामा जे भैरहेकोछ त्यस्लाई संस्कार भनिन्थ्यो अहिले पनि भनिन्छ । संस्कार टुट्ने बित्तिकै मानिसको शरीर र मन सित सम्बन्ध पनि बिच्छेद हुन्छ । यदि हामीले मित्रलाई शत्रु ,शत्रुलाई मित्रको रुपमा हेर्ने प्रयास गर्‍यौ भने पटक्क मनले स्विकार गर्दैन । मैले १० दिने विपश्यना ध्यान शिविरमा सहभागि हुने मौका पाएं तिन दिनसम्म केवल सांसलाई नाबको प्वाल बाट आएको र गएको अनुभुतिमा गरें आंखा चिम्लेकोछु मनको घोडा तुफानले यता उति दगुर्छ एक ठाउंमा स्थिर हुंदैन ।

एक घण्टा भैसक्द पनि अहिले सम्म घण्टी बजेन किन होला भन्ने मनमा तर्क सुरु भैहाल्छ । मनमा अनेकौं दृष्यहरुले चलखेल गर्‍यो । सबैको गर्छ आंखा चिम्लेर एउटा बिषयलाई कल्पना गर्नुस कैयौं परावर्तनहरु देखिन्छ । जब मनमा व्याकुलता आरम्भ हुन्छ सांस त्रि्र गतिले चल्छ रक्तचाप अस्वभाविक हुन्छ यस्तो अवस्थामा मानिसलाई रक्तचाप रोगले आक्रमण गरिहाल्छ । संसार अनित्य छ, हरेक परिस्थिति परिवर्तनशील छ भनेर यथाभूतलाई स्विकार गर्न पनि कति गाह्रोछ ।

आंखा चिम्लनुस त्यतिबेलामा यदि एउटा लामखुट्टे तपाईंको अनुहारमा कतै बसेर रगत चुस्न आफ्ना तिखा करौंतिले घस्रन्छ तब मन कति व्याकुल हुन्छ अनायास तपाईंको मन लामखुट्टे प्रति के हुन्छ .... एक छिन उस्लाई रगत चुस्न दिन सक्नुहुन्छ अहं तर लामखुट्टेलाई रगत चुसेर पेटभरेर भुईमा खस्न १५ सेकेण्ड पनि लाग्दैन तैपनि कति व्याकुलता । यस्तै प्रकारले तिन व्यक्ति र अन्य स्यानो प्राणीहरुलाई मनमा लिएर सुरु गरेको मन्थन बिस्तार गर्दै जान्छौ मनलाई तब सम्म भेदभावबाट मुक्त पार्न अभ्यास गरेर हेर्र्छौ जबसम्म हामी सारा सत्वप्राणीहरु प्रति समान भावना राख्न सक्षम हुंदैनौ ।

मनको बारेमा भगवान बुद्धले यसरी भन्नुहुन्छ "जसरी राम्ररी छाएको छानाबाट पानी चुहिंदैन त्यसरी नै राम्ररी भावना गरेको मनबाट राग चुहिंदैन, जसरी राम्ररी छाना नछाएको छानाबाट स्यानो बर्षमा पनि पानी चुहिन्छ त्यसरीनै राम्ररी भावना नगरेको मनबाट राग चुहिन्छ" मानिसको मनमा रागको परावर्तन हुन्छ द्वको परावर्तन हुन्छ अनि यहि राग र द्वेषको परावर्तनको युद्धमा मानिस अल्झि रहन्छ । यहि राग र द्वेषको मनमा परावर्तनको द्वन्दले प्रज्ञा उत्पत्ति भएको हुंदैन ।

बर्तमान समयमा मानिसको मनमा मैत्री साह्रै न्युन छ अर्थात मैत्री भावना साह्रै पातलो छ । मानिसको मन साम्प्रदायिकताले जकडिएको छ । अरुको दुःख पिडा जति ममा आओस मेरो सुख जति अरुलाई जाओस के यसरी कसैले कल्पना गर्न सकेकोछ सबैको मङ्गल होस सबैको जय होस सबै दुख पिडाबाट मुक्त होउन सबै भयबाट मुक्त होउन सबै रोगबाट मुक्त होउन भनेर मनमा कामना गर्नुभएकोछ मानिसको मन ले आफ्नो शत्रुलाई सुख होस पिडाबाट मुक्त होस भनेर कामना गर्नै सक्तैन जब उ यस्तो कामना गर्न सक्ने हुन्छ उस्को मनमा एउटा सुखानुभतिको परावर्तन हुन्छ एउटा धर्मको फूल फुल्छ ।

मानिसको मन कस्तो छ संधै आफुले वा आफुलाई राम्रो बस्तु प्राप्तहोस भन्ने मनले स्वतः सिर्जना गरिरहेको हुन्छ गाडीमा यात्रा गर्दा तपाईं सुबिधायुक्त सिट रोज्नुहुन्छ आफुलाई सरल र सुबिधाको लागि अरुलाई जसुकै अप्ठेरो होस कुनै सरोकार छैन, तपाईंको अगाडि फलफूल कसैले ल्यायो भने सध्य सध्य छानेर लिनुहुन्छ कमसल वा खराब अरुको लागि छोडिदिनुहुन्छ ।  बिष आफुले पिएर अरुलाई अमृत दिने क्षमता छ ... अहँ बिष आफुले पिएर पनि अरुलाई अमृत कस्ले दिन्छ र अनि किन नाम शिवप्रसाद छ त आफूलाई अरुको लागि प्रयोग गर्न सक्नुपर्छ । अरुलाई आफ्नो लागि प्रयोग गर्नु गलत हो ।  मान्छेको मन कस्तो छ क्रूरताले भरिएकोछ भन्दा के होला तपाईंको मनमा परावर्तन सर्बप्रथम भन्नुहोला कसरी एउटा उदाहरण लिउं मानिसहरु जो मांसाहारी छन् खसि बाख्रा पालेका हुन्छन् प्रेमले घांस पात खुवाउंछन सुसार गर्छन् खसि मोटाउंछ जति जति मोटाउंछ उस्को मनमा कस्तो परावर्तन हुंदै जान्छ .... अहा खसिमा बोसोले भरिएकोछ ... मूल्यको भयो वा यसपाली काटेर खानुपर्छ । त्यस्तो माया प्रेम गरेर हुर्काएको खसि बोका च्वाट्ट काटेर खाने मन कसरी हुन सक्यो... भन्छन यो काटेर खाने बस्तु नै हो ।

मानिसको मनले आफूलाई र अरुलाई समान दृष्टिले हेर्न बिरलै सक्छन् । हेर्न सकिन्छ वा सकिंदैन प्रयास गरेर हेरेमा अवश्य सकिन्छ त्यस्को तरिका यस प्रकार छ अरुको तर्फबाट हेर्नु, आफ्नो तर्फाबाट हेर्नु र परमार्थ दृष्टिले हेर्नु । यदि एक पटक आफै खसि भएर हेरौं त कस्तो भयंकर... त्रास र व्याकुलता हुन्छ । मैले धेरै व्यक्तिलाई प्रश्न गरें "यदि तपाई मरेर फेरि कुनै प्राणीको जुनि लिने मौका पर्‍यो भने के को जुनि लिनुहुन्छ" अधिकांशले उत्तर मान्छेको त्यस्मा पनि पुरुषको भनेर उत्तर आयो ।

अनि मान्छे बाहेक अरु प्राणीको जुनि लिनु पर्‍यो भने भनेर सोध्दा अधिकांशले जस्लाई काटेर खाईंदैन त्यो जनावरको नाम लिए जस्तै गाई , डांफे इत्यादि गधाको जुनि लिन्छु, सुंगुरको वा र्सपको जुनि लिन्छु भनेर कसैले भनेनन् । मनमा असल कल्पना गरेमा असल परावर्तन हुन्छ । सुखानुभुति हुन्छ । खराब कल्पना गरेमा व्याकुलता द्वेषको परावर्तन हुन्छ । हाम्रो मनलाई समता बनाई राख्न सक्नु पर्छ । कुनै पनि दुःखलाई दुःखको रुपमा न लिने सुखलाई सुखको रुपमा न लिने । तर गाह्रो छ प्रयास गरेमा अवश्य सकिन्छ ।

एउटा प्रयास यसरी गरेर  हेरौं सबै भन्दा पहिला आंखा चिम्लेर बर्तमान अवस्थालाई सोंचौं तपाई कहां के गर्दै हुनुहुन्छ, मानौं कुनै किताब पढदै हुनुहुन्छ वा पत्रिका ध्यान दिएर पढ्दै हुनुहुन्छ किनकि कुरा वा घटना रोचक छ, त्यसैबेला एउटा झिंगा तपाईंको नाकमा बस्यो वा लामखुट्टे बस्यो वा शरीरमा कतै सुलसुल भयो वा चिलायो तपाईं तठष्ट भएर बस्नुस केहि नगर्नुस केवल एक क्षणको लागि हो यो सबै अनित्यछ भनेर सोंच्नुस यस बखत तपाईंको मनकोआंखा अन्यत्रै पुगेको हुन सक्छ प्रयास गर्नुस अवश्य सकिन्छ ।

जब तपाईंलाई कसैले ए सुंगुर गधा के गर्दैछस् भनेर भन्यो भने निश्चितछ तपाईंको मनमा व्याकुलताको परावर्तन हुन्छ तर त्यहि समयमा म त सुंगुर, गधा होईन मलाई भनेको होईन भनेर चुप लागेर बसेमा उस्को मनमा के परावर्तन होला जतिपटक भनेपनि तपाई चुप हुनुहुन्छ भने के होला उस्को मनको परावर्तन उ थाक्छ, तपाईं प्रतिको उस्ले के सोंच्ला... कस्तो मान्छे रहेछ ढुङ्गा हो कि मान्छे । बुद्धको एकजना निकटतम शिष्य सारिपुत्र भिक्षाटनको लागि जांदै थिए उस्को आलोचकहरुले गालि गरे ए बेवकूफ लोभी दुई तिन पटक भन्यो सारीपुत्र अगाडी बढदै गर्‍यो । त्यसपछि एक लात पिठ्युंमा हान्यो तैपनि सारिपुत्र अघि बढदै गयो । अनि तिनिहरु अचम्म मानेर अगाडी आएर सोध्यो के हो तिमीलाई त्यत्रो गाली गरें लात्तीले हिर्काएं केहि चाल गर्दैनौ कस्तो हो । सारीपुत्रले भन्यो "तिमीहरुले पछाडीबाट के के भन्यौ के के गर्‍यौ मलाई केहि थाहा छैन" ।

मानिसको मन्  पशुहरुको जस्तै हुनु हुंदैन, मानिसको मन मानिसकै हुनुपर्छ अनि परामर्थ सत्यलाई बुझ्नुपर्छ दया करुणाले भरिएको हुनुपर्छ । कृतज्ञताको भावनाले भरिएको हुनुपर्छ । अनि देश शान्ति सुखमय र बिकसित हुन्छ ।

 

भवतु सब्ब मङ्गलम्

Writer: जीवनकुमार शाक्य, सुर्खेत